‘मर्यादीत महिनावारी राजनीतिक बहसको विषय बन्नुपर्छ’

 

‘मर्यादीत महिनावारी राजनीतिक बहसको विषय बन्नुपर्छ’


राधा पौडेल, मर्यादित महिनावारी अभियन्ता

102Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

घरबाटै विभदे प्रारम्भ

महिनावारीबारे बालक र बालिकाबीच घरबाटै फरक धारणा विकास हुन्छ । महिनावारीको समय आमा दिदीलाई हुने छुवाछुत व्यवहारबाट नै बालिलका जानकार हुन्छन् । आफूलाई बुबा, दाइ र भाइभन्दा कमजोर महसुस गर्छन् ।

बालिकाहरूमा महिनावारी पाप र अशुद्ध हो भन्ने गलत धारणा विकास हुने गरेको छ । तर बालकहरूमा भने पारिवारिक वातावरणबाटै ‘शुद्ध र शक्तिशाली हुँ’ भन्ने धारणा विकास हुन्छ । यसले नै कालान्तारमा विभेदको डरलाग्दो रुप लिन्छ ।

सामाजिक, धार्मिक मान्यता

अन्धविश्वासपूर्ण धार्मिक मान्यताले चार दिनसम्म महिनावारी बार्न बाध्य गराउँछ । यो मनोविज्ञानले नै महिलालाई सबैभन्दा कमजोर बनाउँछ ।
पारिवारिक, सामाजिक तथा धार्मिक प्रक्रियामा सामेल हुन नपाउँदा महिला अफूलाई कमजोर महुस गर्छन् ।

महिनावारी जस्तो प्राकृतिक प्रकृयालाई माध्यम बनाएर महिलामाथि हिंसा हुन्छ । घर, स्कुल, कार्यक्षेत्र सबै ठाउँबाट महिलालाई कमजोर बनाउने काम हुन्छ । महिनावारीलाई पाप–धर्म, शुद्ध अशुद्ध, लाज, निषेध र भ्रमको पर्याय बनाइएको छ ।

धार्मिक र सामाजिक मान्यताको प्रभावका कारण महिनावारी प्रति बनेको गलत धारणाले खुलेर कुरा गर्न नसक्दा महिला हरेक दिन हिंसाको सिकार बन्दै आएका छन् ।

अर्थहीन अभ्यास

विभेदको जड एउटा अभ्यास अर्को हुँदै आएको छ । घरमा विभेद खेप्ने बालिकालाई स्कुलमा महिनावारी सामाग्री (प्याड) दिइन्छ । तर, उनको घरमा वर्षौदेखि हुर्केको महिनावारी प्रतिको गलत धारणा हटाउने प्रयास हुँदैन ।

महिनावारी समस्याका कारण छात्रा विद्यालय नजाने अवस्था अन्त्य गर्नका लागि सरकारले विद्ययालयमा महिनावारीको समय प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ । तर, यसले विभेद अन्त्य हुँदैन ।

सबैमा मर्यादित महिनावारीसम्बन्धी उचित शिक्षा र चेतना विकास नगरेसम्म प्याड बाडेर हुनेवाला केही छैन । घर परिवारबाट नै महिनावारीका कारण महिलामा हुने विभेद अन्त्य नभएसम्म केही हुन्न ।

यसलाई राजनीतिक मुद्धाको रुपमा स्थापित गरेर राजनीतिक दलहरूले पनि काम गर्नुपर्छ । विभेदको निश्चित जात, धर्म, लिङ्गक वा समूदायको हुँदैन । यो सबैको साझा समस्या हो ।

सबै मिलेर विभेद अन्त्यका लागि पहल गर्नुपर्छ । महिनावारी सामाग्री वितरण गरेर तत्कालीक समस्या त टर्ला तर चेतना विकास नभएसम्म दीर्घकालीन रुपमा समस्या समाधान हुँदैन ।

जतातै विभेद

महिनावारीको समय विभेद नहुने कतै छैन । केही समुदायगत रुपमा महिनावारीबारे गलत धारणा नरहेता पनि बहुसंख्यक जाति र समूदायमा यसबारे गलत धारणा छ । सुनिने देखिने गाउँका ‘छाउ गोठ’ प्रथा मात्र हो । तर, यहाँ शिक्षित समुदाय बसोबास गर्ने भनिएको शहरमा झनै ठूलो विभेद छ । दुर्गम गाउँका घरदेखि सिंहदरबारसम्म यो समस्याबाट महिला प्रताडित छन् ।

महिनावारीसम्बन्धी विभेदको रुपमा ‘छाउ गोठ’ प्रथालाई मात्र देखाएर समाजलाई अर्को विभेदतर्फ धकेल्ने काम भइरहेको छ । तर, महिनावारी विभेद देशभर छ ।

विभेद अन्त्य कसरी ?

महिला हिंसामुक्त नेपाली समाजका लागि महिनावारीलाई मर्यादित बनाएर लानु आजको आवश्कता हो । समाज २१औं शताब्दीमा आयो तर पनि वर्ष फेरीए चलन फेरीएनन् । यसले गर्दा बाल मस्तिष्कबाट नै महिलामाथि विभेद प्रारम्भ हुन्छ ।

अहिलेको अवस्थामा बलात्कारमा पार्नु, श्रीमानले कुट्नु वा जलाउनु मात्रै महिला हिंसा हो भनेर बुझ्नु र बुझाउनु समाजको कमजोरी हो । संविधानको मौलिक हकसम्बन्धी धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ ।

त्यस्तै संविधानका विभिन्न धाराले समानताको अधिकार, छुवाछूत तथा भेदभाव विरुद्धको हक, शोषण विरुद्धको अधिकार, स्वच्छ वातावरणको अधिकार, स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, आवासको अधिकार, महिलाको हक र बालबालिकाको अधिकार सुनिश्चित गरेका छन् ।

महिलामाथि असंख्य सामाजिक बन्देज लागेको बेला राज्य तहबाट उचित निकाशका लागि राजनीतिक सवालका रुपमा यसलाई अघि बढाइनुपर्छ ।

महिनावारी विभेदले महिलालाई शक्ति आर्जनमा बाधा पुर्याएको छ । समाजको रुप फेर्न राजनीतिक रुपमा मर्यादित महिनावारीबारे बहस हुन जरुरी छ । महिनावारी अशुद्ध हो भन्ने सामाजिक मान्यताले जरा गाडेको छ । यो पर्खाल जसरी अडिएको छ । हत्तपत्त लड्नेवाला छैन । त्यसकारण यसलाई घर भित्रबाट नै निराकरणका लागि राजनीति रुपमा बहसको विषय बनाइनुपर्छ ।

(मर्यादित महिनावारी अभियानकी अभियन्ता, महिला अधिकारकर्मी तथा मदन पुरस्कार विजेता पौडेलसँग दृष्टिन्यूजका ज्ञानु घिमिरेले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्

Comments